नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भोटेकोसी बाढीमा सरकारको असक्षमता देखिएको टिप्पणी गरेका छन् । सोमबारको केन्द्रीय कमिटी बैठकमा ओलीले अरुको भन्दा आफ्नो पार्टीले उद्धार, राहतमा धेरै भूमिका खेलेको बताए ।
“सरकारको असक्षमता, अकर्मण्यता र राज्यको साधन स्रोतको दुरुपयोग आम जनताले देखेको छ । अफवाह कसरी राज्यस्तरबाट फैलिए त्यो देखिएको छ,” ओलीले भने ।
ओलीले बेलीब्रिजबारे सरकारबाटै भ्रम फैलाइएको बताए । “सामान नै आएको छैन, बेलीब्रिज बनेको भनेर हल्ला चलाइयो,” उनले भने, “एआईकृत नक्सा वितरण गरियो ।”
उनले वाग्मती प्रदेश सरकारले तुइनको व्यवस्था गरेको भन्दै धन्यवाद दिए । अनाथ बालबालिकाको हेरविचार लगायतका विषयमा वाग्मती सरकारले काम गरेको बताए । आफ्नो दुःख–सुखमा जनताको साथमा आफूहरू रहेको दाबी गरे ।













