ललितपुरमा चक्कु प्रहारबाट २३ वर्षीय युवकको हत्या, तीन जना पक्राउ

Image

ललितपुरमा चक्कु प्रहारबाट एक युवकको हत्या भएको छ । सुनसरीको इटहरी घर भइ ललितपुर बस्दै आएका २३ वर्षीय नयन गुरूङको च्यासलस्थित टाउन हब रेस्टुरेन्टमा सोमबार (हिजो) राति हत्या गरिएको हो ।

हत्या गरेको आरोपमा उक्त रेष्टुरेन्टमै काम गर्ने च्यासल बस्ने २६ वर्षीय हेमराज भट्ट, काभ्रेका २२ वर्षीय जनकबहादुर तामाङ र दार्चुलाका ४१ वर्षीय पदमलाल भट्टलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका भट्ट क्याफेका कामदार भएका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवरत्न पौडेलका अनुसार उनीहरूलाई सोमबार राति नै पक्राउ गरिएको हो ।

‘खाजा खाएपछि बिल तिर्ने क्रममा यो घटना भएको देखिन्छ,’ एसपी पौडेलले भने, ‘विवादको क्रममा कामदारले एक्कासी ग्राहकलाई चक्कुले हान्दा घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’