भक्तपुरको सूर्यविनायक नगरपालिका-२, बालकोटमा बाबुछोरा मृत भेटिएको प्रकरणमा जेठो छोरा मिलन आचार्यले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।
खोटाङ रूपाकोट मजुवागढी नगरपालिका वडा नम्बर १ का ५६ वर्षीय कूलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीण सोमबार बिहान मृत भेटिएका थिए । उनीहरुको हत्या कूलप्रसादकै २५ वर्षीय जेठा छोरा मिलनले गरेको आशंकासहित प्रहरीले उनको खोजी गरिरहेको थियो । उनी मंगलबार बिहान मिलन आफै महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर आत्मसमर्पण गरेका हुन् ।
आफू बुबा र भाइको हत्या गरेको स्वीकारेको प्रहरी स्रोतले जनायो । उनले आत्मसमर्पण गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोली आवश्यक सोधपुछका निम्ति त्यहाँ पुगेको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए ।
‘उनी नियन्त्रणमा छन्, घटना हामीले अनुमान गरेजस्तै उनीबाटै भएको स्वीकारे’, भट्टराईले भने ।