अचेत अवस्थामा भेटिएकी युवतीमाथि सामूहिक बलात्कार, तीन जना पक्राउ

मोरङको जहदा गाउँपालिकामा अर्धचेत अवस्थामा फेला परेकी युवतीको सामूहिक बलात्कार भएको खुलेको छ ।

मंगलबार मोरङको जहदा गाउँपालिका-३ की २३ वर्षीय युवती घरदेखि करिब २ किलोमिटर टाढा कटहरी गाउँपालिका-२ मा पर्ने खेतबारीको बीचमा रहेको बाँसको झ्याङमा सलले मुख थुनेर हातखुट्टा बाँधेको अवस्थामा अचेत अवस्थामा फेला परेकी थिइन् ।

अचेत अवस्थामा भेटिएर उद्धार गरिएकी युवतीको बयानका आधारमा प्रहरीले एक भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको हो ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक बेदप्रकाश जोशीले पक्राउ पर्नेमा कटहरी गाउपालिकाका १४ का मोहम्मद रमजान, सोनुकुमार दास र भारतको अररियाका मोहम्मद गुल्जार पक्राउ परेको बताए ।

प्रवक्ता जोशीका अनुसार जहदाका राजेन्द्र ऋषिदेवकी २३ वर्षीय छोरी मंगलबार बिहान घरबाट निस्किएपछि बेपत्ता भएकी थिइन् । दिउँसो मध्यान्ह करिब साढे १२ बजे बेपत्ता अवस्थामा रहेकी उनलाई अर्धचेत अवस्थामा फेला परेकी थिइन् ।

प्रहरीका अनुसार घरबाट शौच गर्न निस्किएकी उनलाई तीन जनाको समूहले सिटी सफारीमा राखी कटहरी-२ स्थित बाँस झ्याङमा लागेर हातखुट्टा बाँधेर जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । घटनाको विषयमा प्रहरीले सूक्ष्म रुपमा अनुसन्धान गरिरहेको मोरङ प्रहरी प्रमुख नारायण चिमरीयाले जानकारी दिए ।

स्थानीयको सहयोगमा प्रहरीले युवतीको उद्धार गरी कोशी अस्पताल भर्ना गरेको थियो । उनको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।

Share