मनाङेको मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक, दुई वर्ष चार महिना कैद बस्नुपर्ने

‘चक्रे मिलनको ज्यानै लिने मनसायले खुँडा प्रहार गरेको देखियो’

सर्वोच्च अदालतले गण्डकी प्रदेशका निलम्बित सांसद दीपक मनाङेको कर्तव्य ज्यानसम्बन्धी मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ ।

न्यायाधीशद्धय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाले २०८१ कात्तिक २० गते सुनाएको फैसलाको पूर्णपाठ सार्वजनिक भएको हो ।

जसअनुसार मनाङे दुई वर्ष चार महिना कैद बस्नुपर्ने भएको छ । उनलाई पाँच वर्ष कैद सजाय भएकोमा सो मुद्दामा यसअघि दुई वर्ष आठ महिना कैद बसिसकेकाले बाँकी दुई वर्ष चार महिना बस्नुपर्ने सर्वोच्चको फैसलामा उल्लेख छ ।

मनाङे हाल डिल्लीबजार कारागारमा छन् । फैसलालगत्तै फरार भएका उनलाई गत २७ कात्तिकमा केन्द्रीय अनुसन्धान ब्यूरोले स्वयम्भुबाट पक्राउ गरेको थियो । पक्राउपछि पनि करिब दुई महिना कारागार बसिसकेकाले उनको कैद अवधि अब दुई वर्ष दुई महिना छ ।

२०६१ सालको बैशाख ३१ गते महाराजगञ्जस्थित चुफाङ रेष्टुरेन्टमा मिलन चक्रेलाई खुँडाले आक्रमण गरेको घटनामा मनाङे दोषी ठहर भएका हुन् ।

फैसलामा भनिएको छ ‘पीडितसँग पूर्व रिसइवी समेत रहेका यी प्रतिवादीले पीडितको ज्यान लिने नै मनसायले खुँडा जस्तो घातक हतियारले टाउको तथा घाँटीमा प्रहार गर्नुको साथै घाइतेले आफूलाई बचाउन हातले छेक्दा बायाँ हात नै छिनालेको तथ्य स्थापित छ । तत्काल नजिकको शिक्षण अस्पताल महाराजगञ्ज लगेको कारणले मात्र पीडित चक्रे भन्ने मिलन गुरुङको मृत्यु हुन नपाएको भए पनि प्रतिवादीले आपराधिक कार्य गरी सकेर भागेको देखिएको, पीडितको घाउचोटको प्रकृति मृत्यु हुन सक्ने (Fatal) प्रकृतिको देखिएको र त्यस्तो चोटको कारण अत्यधिक रक्तश्राव भएर समेत मानिसको मृत्यु हुन सक्ने स्थिति मिसिल संलग्न प्रमाणबाट स्पष्ट रुपमा पुष्टि भएको देखिँदा प्रस्तुत मुद्दाको वारदात कुटपिटसम्मको (अङ्गभङ्ग) मात्र नभई साबिक मुलुकी ऐन,ज्यानसम्बन्धी महलको १५ नम्बरमा वर्णन गरिएअनुरुप ज्यान मार्ने उद्योगकै रहेको देखिन आयो’ ।