महिलाले प्रयोग गर्ने सेनिटरी प्याडमा लुकाएर ल्याइएको सुन लुटपाट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
यही पुस १४ गते दुबईबाट नेपाल आएकी एक महिलाले प्याडभित्र लेपन बनाएर सुन तस्करी गरेकी थिइन् । उक्त सुन सम्बन्धित ठाउँमा नपुगी लुटिएको थियो । सोही सुन लुटपाटमा संलग्न तीन जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएको शुक्रबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नुवाकोटको पञ्चकन्या गाउँपालिका–१ का २६ वर्षीय सुजन नेपाली, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–३ की ३२ वर्षीया मिनसाङ लामा तामाङ र काभ्रेको तेमाल गाउँपालिका–१ का २२ वर्षीया लालबहादुर तामाङ छन् ।
पक्राउ परेकामाथि थप अनुसन्धान जारी रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए ।
लुटपाटमा संलग्न केही व्यक्ति अझै फरार छन् । करिब आधा किलो लेपन लगाइएको सुन प्रहरीले बराबद गरको छ ।
अनुसन्धानका क्रममा उक्त सुन नाम परिवर्तित ‘भक्तपुर क’ महिलाले आफूले प्याड लगाएर त्यसमा लुकाएर ल्याएको खुलेको एक अनुसन्धान अधिकृतले बताए ।
ती अधिकृतका अनुसार सुनलाई गालेर लिक्विड बनाएर प्याडमा लेपन लगाएर ल्याइएको थियो । सुन लुटिएपछि मात्रै अवैध रूपमा ल्याएको सूचना प्रहरीले पाएको हो ।