आसामको दिमा हासाओ जिल्लाको उमराङ्शु क्षेत्रमा रहेको कोइला खानीमा एक नेपालीसहित ९ जना मजदुर फसेका छन् ।
आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले नौसेनाका गोताखोरहरूलाई सहयोगका लागि बोलाइएको बताए । आसाम सरकारले खानीमा फसेका मजदुरहरूको सूची जारी गरेको छ । यी मजदुरमध्ये एक नेपाली रहेको जनाइएको छ ।
घटनास्थलमा खटिएको टोलीका अनुसार खानी भित्र करिब सय फिट पानीको रहेको छ । विशाखापट्टनमबाट गोताखोर बोलाइएको छ र उनीहरू छिट्टै यहाँ पुग्ने अपेक्षा गरिएको छ ।
कोइला खानीमा सोमबार बिहान ८ बजेतिर कोइला निकाल्न गएका मजदुर खानी भित्र फसेका हुन् । खानीमा बिहानैदेखि केही मजदुर फसेको घटनास्थल नजिकै रहेका एक घाइते मजदुरका आफन्तले बताए ।
खानीमा एक्कासी पानी भरिएर दुर्घटना भएको जनाइएको छ। उक्त कोइला खानी करिब ३ सय फिट गहिरो रहेको बताइएको छ ।















