रोमानियामा रेलको ठक्करबाट दुई नेपाली नागरिकको मृत्यु भएको छ। आइतबार बिहान भएको उक्त दुर्घटनामा २५ र ३६ वर्षका दुई नेपालीको घटनास्थलमै मृत्यु भएको रोमानियाका सञ्चारमाध्यमहरूले जनाएका छन्।
दुर्घटना रोमानियाको राजधानी बुखारेस्टबाट करिब ३०८ किलोमिटर टाढा रहेको बाकाउ सहरको चिमीई रेलमार्ग क्षेत्रमा आइतबार बिहान ३:२१ बजे भएको हो। घटनापछि उद्धार टोली घटनास्थल पुगे पनि दुवै जनाको ज्यान बचाउन नसकिएको बताइएको छ।
मृतक दुवै नेपाली नागरिक भएको पुष्टि भए पनि उनीहरूको परिचय भने अझै सार्वजनिक गरिएको छैन। घटनाको वास्तविक कारण पत्ता लगाउन रोमानियाको प्रहरी र सम्बन्धित रेल अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन्।
रोमानियामा करिब ५० हजार नेपाली कामदार कार्यरत रहेको अनुमान गरिन्छ। तर त्यहाँ नेपाल सरकारको आफ्नै दूतावास वा कुनै कूटनीतिक संयन्त्र नभएकाले रोमानियासम्बन्धी कूटनीतिक जिम्मेवारी बर्लिनस्थित नेपाली दूतावासले सम्हाल्दै आएको छ। बर्लिनबाट रोमानिया करिब २ हजार किलोमिटर टाढा पर्छ।















