ग्लोबल आईएमई बैंकले १८ हजार वृक्षारोपण गर्ने, सिइओ रेग्मीले गरे शुभारम्भ

Image

ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चालू आर्थिक वर्षमा १८ हजार वृक्षारोपण गर्ने घोषणा गरेको छ ।

ग्लोबल आईएमई बैंक यही पुस १८ गते बिहीबारदेखि आफ्नो स्थापनाको १८ वर्ष पूरा गरी १९ औं वर्षमा प्रवेश गरेको छ । बैंकले चालू आर्थिक वर्षमा देशका विभिन्न स्थानमा स्थानीय संघ/संस्थासँगको सहकार्यमा १८ हजार वृक्षारोपण गर्नेछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकको वार्षिकोत्सवको अवसरमा अनामनगरस्थित बैंकको कार्यालय परिसरमा विभिन्न बिरुवा रोपेर उक्त अभियानको शुभारम्भ गरेका छन् ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले वृक्षारोपण कार्यक्रम चालू आर्थिक वर्षभरि सञ्चालन गरिने र अनुकूल समयमा १८ हजार बिरुवाहरू रोपण गर्ने जानकारी दिए ।​​

‘रुखविरुवा प्रकृति संरक्षणको महत्त्वपूर्ण पाटो हो । वृक्षारोपणले वातावरणीय सन्तुलन कायम गर्न, हरियाली जोगाई राख्न, पहिरो रोक्न, पानीको स्रोत जोगाउन सहयोग पुर्‍याउँछ,’ उनले भने ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल लगायत उच्च व्यवस्थापनका कर्मचारीहरूको उपस्थिति रहेको थियो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।

ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरक(फरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आईएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५५ शाखा कार्यालय, ३८४ एटीएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्स्टेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।