मुग्लिन–नारायणगढ सडकमा सुक्खा पहिरो, दुईतर्फी यातायात अवरुद्ध

Image

मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत खहरे खोला नजिक सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

डिभिजन सडक कार्यालय भरतपुरका अनुसार पहिरो ठूलो भएकाले सडकको दुवैतर्फ सवारीसाधन सञ्चालन रोकिएको छ। पहिरो हटाउन सम्बन्धित स्थानमा डोजर तथा अन्य मेसिन परिचालन गरिएको छ भने पहिरो पन्छाउने काम तीव्र गतिमा भइरहेको छ।

पहिरोका कारण मुग्लिनबाट नारायणगढतर्फ जाने तथा नारायणगढबाट मुग्लिनतर्फ आउने सबै सवारीसाधन बीच बाटोमै रोकिएका छन्। सडक डिभिजन कार्यालयले यात्रुहरूलाई धैर्यपूर्वक प्रतीक्षा गर्न आग्रह गरेको छ।

आज बिहान करिब ८:४५ बजे पहिरो खसेको हो। कार्यालयका अनुसार पहिरो हटाएर सडक पुनः सञ्चालनमा ल्याउन करिब डेढ घण्टा लाग्ने अनुमान गरिएको छ।

यात्रु तथा चालकलाई वैकल्पिक योजना बनाएर यात्रा गर्न र सम्बन्धित निकायको सूचनालाई पछ्याउन आग्रह गरिएको छ।