रास्वपाका सभापति रवि लामिछानेले सुनसरी लगायतका पूर्वी जिल्लामा हालै घटेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
आज विज्ञप्ति जारी गर्दै यस घटनाले निम्त्याएको तनावपूर्ण परिस्थितिप्रति सिङ्गो पार्टी पङ्क्ति स्तब्ध भएको जनाएका हुन्।
विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र मुठभेडबाट हुन सक्दैन भन्ने हाम्रो स्पष्ट मान्यता छ। नेपाली समाजको सबैभन्दा ठूलो शक्ति र सौन्दर्य भनेकै हाम्रो बहुलवादी संस्कृति, आपसी एकता, सहिष्णुता र सदियौँदेखिको सामाजिक सद्भाव हो।’
यसलाई खलबलाउने, साम्प्रदायिक वा सामाजिक सहिष्णुतामा खलल पुर्याउने गरी कुनै पनि गतिविधि नगर्नरनगराउन हामी सम्पूर्ण आम नागरिक, नागरिक अगुवा, धार्मिक तथा सामाजिक व्यक्तित्वहरू र सरोकारवाला पक्षहरूमा अपिल गरेका छन्।
कुनै पनि प्रकारका उत्तेजना र अफवाहको पछि नलागी उच्च संयमता अपनाउनु नै अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘यस संवेदनशील परिस्थितिमा तत्काल शान्ति सुरक्षा कायम गर्न, आम नागरिकको जिउधनको रक्षा गर्न र परिस्थितिलाई सामान्यीकरण गर्न हामी नेपाल सरकार र स्थानीय प्रशासनसँग निरन्तर सहजीकरणमा छौँ।’
यस घटनाको जरोसम्म पुग्ने गरी स्वतन्त्र, निष्पक्ष र द्रुत छानबिन गरी दोषीउपर कडा कानुनी कारबाही गर्न र पीडित पक्षलाई उचित न्याय तथा राहत (क्षतिपूर्ति र निःशुल्क उपचार) उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टी शान्ति, न्याय र सामाजिक सद्भावको पक्षमा सदैव अडिग छ। परिस्थितिलाई सामान्य बनाउन र आपसी संवादमार्फत समस्याको शान्तिपूर्ण समाधान खोज्न पार्टीको तर्फबाट आवश्यक हरेक सकारात्मक भूमिका निर्वाह गर्न हामी निरन्तर छलफलमा रहेका छौँ।’
अत्यन्तै संवेदनशील र दुःखद घटनालाई कुनै पनि बहानामा राजनीतिकरण नगर्न हामी सबै राजनीतिक दल तथा सम्बद्ध पक्षहरूसँग विशेष आग्रह गरेका छन्।
रास्वपाका स्थानीय समितिका सम्पूर्ण सदस्यहरू लगायत सम्पूर्णलाई शान्ति र सद्भाव कायम राख्न सहयोगी भूमिका खेल्न विशेष निर्देशन दिएका छन्।















