डडेल्धुराको अमरगढी नगरपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । जिल्लाको अमरगढी-३ मल्लो पथरोडाबाट श्रीमतीको हत्या गरेको आरोपमा एक श्रीमान् पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा जिल्लाको अमरगढी नगरपालिका-३ मल्लो पथरोडाका ३२ वर्षीय डम्बर थापा मगर रहेका प्रहरीले जनाएको छ ।
डम्बरले घरायसी विवाद हुँदा सोमबार बेलुका २४ वर्षीया श्रीमती अस्मिता थापा मगरलाई भरूवा बन्दुकले गोली हानेको डडेल्धुरा प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर बिष्टले बताए ।
प्रहरी स्रोतका अनुसार श्रीमान श्रीमतीबीच दैनिक झै(झगडा हुने गरेको खुल्न आएको छ । डम्बरले रक्सी सेवन गरी गोली हानेको प्रहरीले जनाएको छ ।
श्रीमतीको हत्यापछि फरार डम्बरलाई प्रहरीले जंगलबाट भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।