उमागौरी सहकारीका अध्यक्षलाई थुनामा पठाउन आदेश

Image

जिल्ला अदालत मोरङले धनपालथान गाउँपालिका–४ कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियारलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ ।

तीन दिनको बयान र आइतबार भएको थुनछेक बहसपछि सहकारीको रकम अपचलन मुद्दामा जिल्ला अदालत मोरङका न्यायाधीश अरुणकुमार झाको इजलासले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।

तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहरेबमोजिम हुने गरी रौनियारलाई कारागार चलानको आदेश भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । बचतकर्ताले जम्मा गरेको रकम अपचलनमा मुछिएपछि सहकारीको कार्यालय बन्द गरेर फरार भए उनी यही माघ १४ गते अदालतमा हाजिर भएका थिए । अदालतमा उनको बयान लिन नै ३ दिन समय लागेको थियो । बीचमा शनिबारसहित ३ दिन बिदा पर्‍यो । रौनियारको बयान गत शुक्रबार सकिएको हो । अदालत हाजिर भएयता उनी जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा थिए ।

उमागौरी सहकारी ठगी प्रकरणका मुख्य आरोपी रौनियार हुन् । उनकै सक्रियतामा स्थापना भएको यो सहकारीको रकम अपचलन मुद्दामा संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला पनि प्रतिवादी छन् । यस्तै रंगेली नगरपालिका–२ का वडाध्यक्ष सन्तलाल खवास, धनपालथान गाउँपालिका–४ का पूर्ववडाध्यक्ष रोशन चौधरीलगायत प्रतिवादी छन् ।

अध्यक्ष रौनियार र सांसद पत्नी कोइरालासहित यो मुद्दामा २६ जनालाई प्रतिवादी बनाएर मंसिर २७ गते सहकारीको रकम अपचलन मुद्दा दायर भएको थियो । २६ जनासँग २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो मागदाबी छ ।

मुद्दाको अनुसन्धानका क्रममा पूर्ववडाध्यक्ष चौधरी मात्रै पक्राउ परेका थिए । उनलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । आदेशलगत्तै उनलाई कारागार चलान गरियो । गत पुस २४ गते अदालतमा उपस्थित भएकी अञ्जला अदालतले धरौटीबापत माग गरेको १० लाख रुपैयाँ बुझाएर छुटेकी थिइन् । वडाध्यक्ष खवास ५ लाख धरौटी बुझाएर छुटेका थिए ।

Share