पूर्वराजालाई ०८४ को चुनाव लड्न वामदेवको सुझाव (भिडियो)

Image

पूर्वराजा ज्ञानेन्द्र शाहलाई  पुनः राजा बन्ने सपना त्यागेर २०८४ को निर्वाचनमा प्रतिस्पर्धा गर्न राष्ट्रिय सभाका सांसद वामदेव गौतमले सुझाव दिएका छन् । आइतबार राष्ट्रिय सभामा बोल्दै सांसद गौतमले प्रजातान्त्रिक राजनीतिक दल खोलेर आउन पूर्वराजा शाहलाई सुझाव दिएका हुन् । 

राजनीतिक पार्टीका नेताहरूले देशको विकास, उन्नति, प्रगति गरेनन्, त्यसैले मलाई राजा बनाऊ भन्नु उचित नहुने उनले उल्लेख गरे । पुनः राजा बन्ने चाहना त्यागेर पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गराई ०८४ मा हुने चुनावमा भाग लिन उनले सुझाव दिए ।

‘तपाईँले पुनः राजा बन्ने चाहना परित्याग गरेर आफ्नो नेतृत्वमा एउटा प्रजातान्त्रिक राजनीतिक पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गराउनुस्,’ सांसद गौतमले भने, ‘र, केही समयपछि २०८४ मा हुने निर्वाचनमा भाग लिनुस् । निर्वाचित भई संसदबाट प्रधानमन्त्री बन्नुस् ।’ 

अर्को प्रसंगमा सांसद गौतमले राजा महेन्द्र र वीरेन्द्रको वंश विनाश राजपरिवारकै सदस्यबाट भएको बताए । ‘महेन्द्रलाई चितवनको दियालो बंगलामा हत्या गर्ने पनि राज परिवारकै व्यक्ति हुन् । त्यसपछि राजा वीरेन्द्रको राजसहित उनको वंश विनाश गर्ने पनि राजपरिवारकै सदस्यहरू हुन्,’ उनले भने ।