पहिरो र बाढीले पृथ्वी राजमार्गसहित सात राष्ट्रिय राजमार्ग प्रभावित

Image

अविरल वर्षाका कारण पहिरो खस्नुका साथै बाढीले सडक कटान र डाइभर्सन बगाएपछि काठमाडौँ उपत्यका जोड्ने प्रमुख राजमार्गसहित सात राष्ट्रिय राजमार्गमा यातायात प्रभावित भएको छ। अवरुद्ध सडक खुलाउन सम्बन्धित निकायले निरन्तर काम गरिरहेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नरेशराज सुवेदीका अनुसार पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ चालिसे र गजुरी गाउँपालिका–५ बाङ्गेमोडमा ठूलो परिमाणमा लेदोसहितको पहिरो खसेको छ। पहिरो हटाउने काम भइरहे पनि सडक पूर्ण रूपमा खुलाउन केही समय लाग्ने प्रहरीले जनाएको छ।

कृष्णभिरमा खसेको पहिरो पन्छाएपछि भने एकतर्फी रूपमा सवारीसाधन सञ्चालनमा आएका छन्। तर चालिसे र बाङ्गेमोडमा पहिरो पूर्ण रूपमा हटाउन बाँकी रहेकाले तत्काल नियमित रूपमा यातायात सञ्चालन गर्न सकिने अवस्था नरहेको सुवेदीले बताए।

पहिरो हटाउने क्रममा थप वर्षा भए माथिबाट पुनः पहिरो खस्ने जोखिम रहेकाले यातायात सञ्चालनमा थप समस्या आउन सक्ने ट्राफिक प्रहरीले जनाएको छ।

वर्षाका कारण काठमाडौँ उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथसहित सात राष्ट्रिय राजमार्गमा यातायात प्रभावित भएको छ। कान्ति लोकपथअन्तर्गत ठिङ्गन तथा फर्पिङ–फाखेल खण्डमा खसेको पहिरो हटाउने काम भइरहेको छ।

त्यस्तै, बीपी राजमार्गअन्तर्गत माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कटुन्जे र चौकीडाँडालगायत स्थानमा पहिरो तथा बाढीका कारण डाइभर्सन बगाउँदा यातायात सेवा अवरुद्ध भएको छ।

दक्षिणकाली–सिस्नेरी सडकखण्डमा भने साना सवारीसाधन सञ्चालन भइरहेका छन्। ठूला सवारीसाधनलाई त्रिभुवन राजपथ हुँदै आलोपालो सञ्चालन गर्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले राजमार्गको अवस्था सामान्य नभएसम्म यात्रु तथा चालकलाई धैर्य गर्न, जबर्जस्ती अवरुद्ध सडक पार नगर्न र पूर्वसूचना लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।