पशुपतिनाथमा साधुसन्तको बिदाइ (भिडियो)

Image

महाशिवरात्रिमा पशुपतिनाथमा मेला भर्न आएका साधुसन्तहरुलाई शुक्रबार पशुपतिनाथ मन्दिरको मूल गेट अगाडि एक कार्यक्रम गरी बिदाइ गरिएको छ ।

उनीहरूलाई बाटो खर्चसहित बिदाइ गरिएको हो । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले साधुसन्तहरुलाई बिदाइ गरेका हुन् । साधुसन्तहरुलाई शुक्रबार दिउँसोसम्मको खाना र आवासकोसमेत व्यवस्था गरिएको कोषले जानकारी दिएको छ ।

गुठी संस्थान र कोषले साधुसन्तहरुको वर्गिकरण गर्दै त्यहिअनुसारको खर्चको व्यवस्था गर्दै आएको छ । नागाबाबा, गोरखनाथ सम्प्रदायका नवनाथ बाबा, वैरागी, सन्यासी र सामान्य बाबाको वर्गीकरण गरी दक्षिणा दिने प्रचलन रहेको छ । वर्ग अनुसार रु दुई सय देखि ९ हजारसम्म दक्षिणा दिइएको गुठी संस्थानका सहायक प्रशासक बैकुण्ठ प्रसाद रेग्मीले जानकारी दिए । साधुसन्त बिदाइकै लागि गुठी संस्थानले छुट्याएको बजेटमा आधा रकम थप गर्दै कोषले साधुसन्तको बिदाई गर्ने गरेको उनले बताए ।

महाशिवरात्रिमा पशुपतिनाथमा दर्शनका लागि आएका साधुसन्तलाई पशुपतिनाथको बिभिन्न स्थानमा राखी खाने, बस्ने एवम् धुनीका लागि काठको व्यवस्था गरिएको थियो । महाशिवरात्रिका लागि विभिन्न स्थानबाट आएका साधुसन्तलाई फागुन कृष्ण औसीका दिन दक्षिणासहित बिदाइ गर्ने प्राचीन परम्परा रहेको जनाइएको छ ।