परिवारसहितको तस्बिर सार्वजनिक गर्दै प्रधानमन्त्री बालेनको सन्देश : ‘भिजिट चितवन, न्यानो ठाउँ’

Image

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगेका प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले परिवारसहितको तस्बिर सार्वजनिक गर्दै चितवन भ्रमणको प्रवर्द्धन गरेका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत पत्नी सविना काफ्ले र छोरीसँगको पारिवारिक तस्बिर साझा गर्दै चितवनको आतिथ्यता र वातावरणको प्रशंसा गरेका हुन्। उनले तस्बिरसँगै छोटो सन्देश लेख्दै भनेका छन्, “भिजिट चितवन, न्यानो ठाउँ।”

रास्वपाको महाधिवेशनको विशेष माहोलका बीच चितवनस्थित एक होटलमा फुर्सदको समयमा खिचिएको उक्त तस्बिर सामाजिक सञ्जालमा चर्चा बटुलिरहेको छ। परिवारसँगको सहज र आत्मीय क्षण सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले चितवनको पर्यटन सम्भावना र स्थानीय आतिथ्यतालाई समेत उजागर गर्ने प्रयास गरेको टिप्पणी गरिएको छ।

चितवन प्राकृतिक सौन्दर्य, वन्यजन्तु संरक्षण क्षेत्र, सांस्कृतिक विविधता तथा आतिथ्य सेवाका लागि परिचित गन्तव्य हो। प्रधानमन्त्री शाहको उक्त पोस्टले चितवन भ्रमणका लागि आन्तरिक पर्यटकलाई थप आकर्षित गर्न सकारात्मक सन्देश दिएको पर्यटन व्यवसायीहरूको भनाइ छ।

रास्वपाको प्रथम महाधिवेशनका लागि देशका विभिन्न भागबाट प्रतिनिधि तथा शुभेच्छुकहरू चितवन पुगेका बेला प्रधानमन्त्री शाहको यो पोस्टले महाधिवेशनको उत्साहसँगै चितवनको पर्यटन प्रवर्द्धनलाई पनि थप चर्चा दिलाएको छ।