नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) लागुऔषध कारोबारमा दोषी ठहर भएका छन् ।
जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले अध्यक्ष गुप्ता र गाउँपालिकाका नगर प्रहरी रघुनाथप्रसाद धोबीलाई कसुरदार ठहर गरेको हो । रघुनाथप्रसाद २०७९ असोज २६ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् । अन्य दुई अभियुक्त रामा गुप्ता (रामा साह) र जितेन्द्र पासवानलाई भने सफाइ दिइएको छ । ती दुई भारतीय नागरिक हुन् । यस्तै, पाल्हीनन्दन गाउँपालिका-३ का मन्टु भनिने विवेकप्रसाद पाण्डे अझै फरार छन् ।
कसैबाट लागुऔषध बरामद नभए पनि अध्यक्ष गुप्ता अप्रत्यक्ष संलग्न रहेको भन्दै दोषी ठहर गरिएको हो । अध्यक्ष गुप्तासहित धोबीलाई कसुर ठहर भए पनि सजाय निर्धारणको लागि फागुन २९ गते पेशी तोकिएको छ । लागुऔषध अभियोगमा २ देखि १० वर्षसम्म कैद र १ लाखदेखि २० लाख रूपैयाँसम्म जरिवानाको व्यवस्था रहेको छ । तर, अध्यक्ष गुप्ताले लागुऔषध मुद्दाको कसुरबापत आधा सजाय पाउने भएका छन् ।
२०७९ असार २२ गते रामग्राम नगरपालिका–१७ पिपरिहयामा अध्यक्ष गुप्ताको निर्देशनमा आफैसँग कबाड सामानको कारोबार गर्ने रामा र जीतेन्द्रलाई फसाउन खोजिएको आरोप लागेको थियो ।
गुप्ताको निर्देशनमा नगर प्रहरी रघुनाथप्रसाद धोबी र विवेकप्रसाद पाण्डेले रामा र जीतेन्द्र चढेको मोटरसाइकल नजिक लागुऔषध राखेर फसाउन खोजेको रामा र जितेन्द्रको परिवारले भन्दै आएका थिए ।
कवाडको कारोबारमा तिर्नुपर्ने करिब एक करोड ३५ लाख रूपैयाँ बराबरको लेनदेन विवादकै कारण गुप्ताले उनीहरूलाई फसाउन खोजेको रामा र जितेन्द्रको दाबी छ ।