पोखरा महानगरपालिकाले कोटीहोम रोक्न खोजेपछि झडप भएको छ ।
नेपाल ट्रस्ट मातहतको बाराहीघाटमा आज मानव सेवा फाउन्डेसनले गर्ने भनिएको कोटिहोमका निम्ति भूमि पूजन कार्यक्रम थियो । त्यसलाई रोक्न पुगेको महानगर प्रहरी र आयोजक व्यक्तिहरूबीच धकेलाधकेल भएको थियो ।
पोखराको लेकसाइडमा फाउन्डेसनले सञ्चालन गर्न लागेको कोटीहोमलाई महानगरले अनुमति दिएको छैन । शुक्रबार अनुमतिबिना भूमिपुजन गर्न खोजेको भन्दै महानगर प्रहरीले रोक्न खोजेको थियो ।
सो क्रममा कोटीहोम सञ्चालक र महानगर प्रहरीबीच झडप भएको जिल्ला प्रहरी कार्यालय, कास्कीका डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । त्यसक्रममा नगर प्रहरीले स्थानीय मिलन पहारीलाई कुटपिट गरेको थियो । उनलाई उपचारका निम्ति मेट्रोसिटी अस्पताल पठाइएको थियो ।
त्यसपछि विरोधमा उत्रिएका आयोजक पक्षका अरू व्यक्ति र नगर प्रहरीबीच झडप भएको हो । झडपमा परी नगर प्रहरी र आयोजक दुवैतर्फका गरी करिब एक दर्जन मानिस घाइते भएका छन् ।
बाराहीघाटमा बाक्लो संख्यामा नगर प्रहरी र प्रहरीहरू तैनाथ गरिएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यविरुद्ध स्थानीयले नाराबाजी गरेका छन् ।














