सहकारीबाट ८० लाख लुटेको आरोपमा एक पक्राउ

Image

धनुषामा सहकारीको ८० लाख रुपैयाँ लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–३, हरिहरपुरका ४० वर्षीय भरतकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ । सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि नै जनक महतो र श्रवण कापरलाई पक्राउ सकेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता वरुणबहादुर सिंहले २०८१ वैशाख २४ गते धनुषाको सबैला नगरपालिका–१२, रघुनाथपुरमा रहेको शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी विरेन्द्रकुमार महतोले बोकेको ८० लाख रुपैयाँ लुटपाट घटनामा संलग्न रहेको आरोपमा महतोलाई पक्राउ गरिएको बताए । उनलाई बुधबार पक्राउ गरी अदालतको आदेशअनुसार सिन्धुली कारागार चलान गरिएको उनले जानकारी दिए ।

सहकारीका कर्मचारी महतोले जनकपुरस्थित हिमालयन बैंक लिमिटेड शाखाबाट सो रकम झिकेर ज७प ५१५१ नम्बरको मोटरसाइकलमा सवार भएर रघुनाथपुर जाने क्रममा जनकपुरधाम–१९, थुमौनामा लुटिएका थिए । उनलाई नम्बर नखुलेको मोटरसाइकलमा आएका तीन जनाको हतियारधारी समूहले उक्त रकम लुटपाट गरेका थिए ।

प्रवक्ता सिंहका अनुसार अनुसन्धानको क्रममा प्रहरीले विभिन्न प्रमाणहरू सङ्कलन गर्दै जाँदा लुटपाटमा संलग्न मुख्य अभियुक्त भरतकुमार महतो रहेको पुष्टि भएको थियो । फरार रहेका महतोको खोजी गर्दै जाँदा उनलाई धनुषाबाट पक्राउ गर्न प्रहरी सफल भएको उनले बताए ।