वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखाको आरूघाट गाउँपालिका-४ घर भई काठमाडौं महानगरपलिका-१६ बस्ने २४ वर्षीया सरु परियार, कञ्चनपुर बेलौरी नगरपालिका-३ घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने ३२ वर्षीय जेम्स राना, काठमाडौं कीर्तिपुर नगरपालिका-६ घर भएकी ३४ वर्षीया रेखा तुलाधार, धादिङ नीलकण्ठ नगरपालिका-९ घर भई काठमाडौं महानगरपालिका-१६ बस्ने २७ वर्षीय रवि खनाल, ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका-१ घर भई काठमाडौं बूढानीलकण्ठ नगरपालिका-८ बस्ने ४० वर्षीय ललित बहादुर ईवारम र ३३ वर्षीय दीपेश सुब्बा लिम्बु रहेका छन् ।
पक्राउ परेकामध्ये सरुले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ, जेम्सले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ, रेखाले जापान पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट १३ लाख २ हजार रूपैयाँ, रविले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट १४ लाख रूपैयाँ तथा ललित र दिपेशले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५३ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।












