नश्ल सुधार कार्यक्रमअन्तर्गत मुर्रा राँगाको वीर्य परीक्षण सफल भएको छ । बाँकेको खजुरा गाउँपालिका– २, एल गाउँका किसान बमराज रेग्मीको भैँसीले भारतबाट ल्याइएको मुर्रा राँगाको वीर्यबाट पहिलो पाडो जन्माएको छ ।
राष्ट्रिय पशु प्रजनन् कार्यालय नेपालगञ्ज गौघाटबाट मुर्रा राँगाको वीर्य खरिद गरी कृत्रिम गर्भाधान गराएको भैँसीले एक महिनाअघि गत २६ माघमा पाडो जन्माएको रेग्मीले जानकारी दिए । योसँगै मुर्रा राँगाको वीर्य परीक्षण सफल भएको तथा उन्नत जातका पाडापाडी उत्पादनबाट भविष्यमा पशुपालनलाई आधुनिकीकरणतर्फ उन्मुख गराउन सहज हुने बताए ।
‘भैँसीमा गर्भ नरोकिने समस्या देखिएको थियो, त्यही बेला राष्ट्रिय पशु प्रजनन् कार्यालयमा मुर्रा राँगा आएकाले प्रयास गरेको सफल भयो,’ रेग्मीले भने, ‘स्वस्थ पाडो जन्मिएको छ, भैँसीले दूध पनि राम्रै दिएको छ ।’ मुर्रा राँगाको वीर्यबाट जन्मिएको उन्नत जातको पाडोलाई हुर्काएर गाउँका अन्य भैँसीमा नश्ल सुधारमा प्रयोग गर्ने सोच बनाएको रेग्मीको भनाइ छ ।
राष्ट्रिय पशु प्रजनन् कार्यालय नेपालगञ्ज गौघाटले भारतले अनुदानमा दिएको उन्नत जातको मुर्रा राँगाबाट गत वर्षदेखि वीर्य संकलन सुरु गरी किसानलाई बिक्रीवितरण गर्दै आएको कार्यालय प्रमुख पशु विकास अधिकृत डा. खिमानन्द खनालले जानकारी दिए ।
उनका अनुसार गत वर्ष मङ्सिर ६ गते नेपालगञ्ज ल्याइएका ती राँगा ७ गते राष्ट्रिय पशु प्रजनन् कार्यालय गौघाट ल्याइएका थिए । नेपाल ल्याइएका १५ मुर्रा राँगामध्ये नेपालगञ्ज कार्यालयमा तीन राँगा राखिएका छन् । गौघाटमा राखिएका तीन राँगामध्ये दुईबाट वीर्य उत्पादन गरी संकलन तथा किसानलाई वितरणको काम गरिएको छ ।
खजुरामा मुर्रा राँगाको वीर्यबाट जन्मिएको पाडोलाई ५० प्रतिशत मुर्रा जातको प्रमाणपत्र दिन सकिने राष्ट्रिय पशु प्रजनन् कार्यालय गौघाटका पशु सेवा प्राविधिक देवनारायण जैसीले जानकारी दिए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को भारत भ्रमणका क्रममा भारतले नेपाललाई नश्ल सुधार कार्यक्रमका लागि उपहारस्वरुप मुर्रा राँगा प्रदान गरेको थियो ।















