रूपन्देही प्रहरीले अवैध गाँजासहित भारतीय महिलालाई पक्राउ गरेको छ। थाई एयर एसियाको जहाजमा थाइल्याण्डको बैंककबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा आएकी भारतीय महिलालाई प्रहरीले साढे सात किलो अवैध गाजासहित पक्राउ गरेको हो ।
गौततम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालयका वरिष्ठ नायब निरीक्षक विचित्र मगरका अनुसार सोमबार दिउँसो सवा १२ बजे थाई एयर एसियाको जहाजबाट अवतरण गरेकी भारतको मुम्बई महाराष्ट्रकी ४५ वर्षीया गुलनाज बेग विमानस्थलको टर्मिनल गेटबाट गाँजासहित पक्राउ परेकी हुन् ।
विमानस्थलको सुरक्षार्थ खटिएका प्रहरी निरीक्षक अर्जुन पौडेलको कमाण्डमा रहेको प्रहरी टोलीले बेगले ल्याएको सुटकेस खानतलासी गर्दा साढे सात किलो गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।
बेगले ल्याएको सुटकेसभित्र गाँजालाई प्लाष्टिकमा २६ वटा पोका बनाएर राखिएको मगरले बताए ।
















