ललितपुरको मंगलबजारमा मृत भेटिएकी ११ वर्षीया बालिकाको हत्या उनकै सहोदर दाजुले गरेको खुलेको छ ।
गत चैत २९ गते ललितपुर महानगरपालिका ९ खपिन्छेँस्थित बाबुराजा अवालेको पुरानो घरमा रहेको पानी ट्याङकीमा सडेगलेको अवस्थामा दुर्गा बोहराको शव फेला परेको थियो ।
सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उनकै दाइ १५ वर्षीय किशोरलाई पक्राउ गरेको छ । शंकास्पद गतिविधि गरेको देखेपछि प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको थियो । सो क्रमा उनले बहिनीको हत्या आफैंले गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।
ललितपुर महानगरपालिका १२ मंगलबजारमा बस्ने ११ वर्षकी दुर्गा बोहरा हराएको भन्दै उनकी आमा भगवतीले चैत ६ गते प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएकी थिइन् । चैत ४ गते राति साढे ९ बजेबाट हराएको उनको निवेदनमा उल्लेख थियो ।
बझाङ स्थायी घर भएको बोहरा परिवार बालिका मृत फेला परेकै घरबाट फागुन २५ गतेसम्म डेरा बसेको खुलेको छ । त्यसपछि उनीहरु डेरा सरेका थिए ।
सोही घरमा भाडामा बस्ने अर्को परिवार पनि चैत २ गते अन्यत्र डेरा सरेका थिए । त्यसपछि उक्त घर खालि थियो ।
चैत ४ गते मृतक र उनका दाजु पहिला डेरामा बस्ने गरेको अवालेको घर तर्फ जाँदै गरेको सीसीटीभी फुटेजमा देखिएको थियो । प्रहरीका अनुसार उनीहरु लुगा छुट्यो भन्दै उक्त घरमा पुगेका थिए । सो क्रममा लागुऔषधसमेत सेवन गरेको खुलेको र सोही विषयमा विवाद हुँदा दाजुले बहिनीको हत्या गरेको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार, दुर्गाका दाइले घाँटीमा डोरीले कसेर उनको हत्या गरेका थिए । दाजु बहिनीले नै लागु औषधको ट्याबलेट खाएको र त्यसको नशामा आफु भएकोले त्यस्तो घटना हुन गएको १५ वर्षका किशोरले प्रहरीलाई बताएका छन् ।
भोलिपल्ट नसाले छाडेपछि उक्त घरमा गएर शव व्यवस्थापन गरेको पाइएको एक अनुसन्धान अधिकृतले बताए । भुईंतलाको भर्याङ छेउमा रहेको उक्त शव भोलिपल्ट दाजुले पानीट्यांकीमा हालेर ढक्कन लगाएर बाहिरिएको पाइएको छ ।
पक्राउ परेका किशोरलाई कर्तव्य ज्यानको कसुरमा थप अनुसन्धान तथा कारबाही अगाडी बढाउनका लागि अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर ललितपुरमा पठाएको छ ।













