ढल्केबर सबस्टेसनको ट्रान्सफर्मरमा आगलागी (भिडियो)

Image

नेपाल विद्युत् प्राधिकरणको ढल्केबर सबस्टेसनमा रहेको १३२/३३ केभीको ट्रान्फर्मर (सिटी) पड्केर आगलागी भएको छ । 

गर्मीका कारण तराई क्षेत्रमा बढी विद्युत् खपत भइरहेका कारण बढी विद्युत् प्रवाह (ओभर लोड) हुँदा बुधबार बिहान करिब ७ः३० बजे उक्त करेन्ट ट्रान्फर्मरमा पड्किएर आगलागी भएको हो । 

आगलागी नियन्त्रणमा आइसकेको र सिटी पड्किँदा कहाँ–कहाँ क्षति भयो भन्ने विषयमा अध्ययन भइरहेको प्राधिकरणका प्रवक्ता राजा भाइ शिल्पकारले बताए ।
 
आगलागीबाट उक्त ट्रान्सफर्मरमा जडान गरिएका केबल (तार) समेत जलेको प्राधिकरणको ग्रिड विकास विभागका निर्देशक कमल आचार्यले जानकारी दिए । 

उनका अनुसार आगलागीबाट सिन्धुलीतर्फ जाने ३३ केभी फिडरतर्फको विद्युत् आपूर्ति अवरुद्ध हुँदा धनुषा, महोत्तरी र सर्लाहीको केही भागमा विद्युत् सेवा अवरुद्ध भएको छ । 

१३२ केभी लाइन भने सबै ठाउँमा चालु भइसकेको छ । हाल विद्युत् अवरुद्ध भएका क्षेत्रको आपूर्ति सुचारु गर्न अर्कोतर्फबाट लाइन जोड्ने तयारी भइरहेको छ ।