कास्कीको पोखरा महानगरपालिकाका अधिकृत कपिल गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
महानगरपालिकाको उजुरी फछ्र्यौट तथा समन्वय शाखामा कार्यरत अधिकृत गिरीलाई गएको चैत ७ गते अख्तियारले नियन्त्रणमा लिएको थियो ।
अख्तियारबाट आएको उजुरी पत्रबारेको प्रमाण मेटाइदिने भन्दै सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गिरीलाई नियन्त्रणमा लिएर अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानको क्रममा गिरीले सेवाग्राहीसँग उक्त रकम घुस लिएको पुष्टि भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो दाबी सहित मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
उनीविरुद्ध कसुरमा बिगो २५ हजार कायम गरी बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आरोपपत्र दायर गरिएको हो ।