मकवानपुर प्रहरीले झण्डै चार लाख १४ हजार मूल्य बराबरको प्रतिबन्धित लागु औषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ ।
बिहीबार प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौँडा–१५ रातोमाटेस्थित चेकपोइन्टमा सवारीसाधन रोकी चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
पक्राउ पर्नेमा गाडी चालक बाराको पाँचरौता नगरपालिका वडा नम्बर–७ बस्ने बेनौली बस्ने २५ वर्षीय तिर्थलाल पाश्वान र सोहि स्थान बस्ने सहचालक २३ वर्षीय सुनिल पटेल रहेका छन् । आगु औषध बाराबाट हेटौँडातर्फ आउँदै गरेको मधेश प्रदेश ०२–००१ च १४३८ नम्बरको योद्धा पिकअप गाडीको इन्जिन भएको भागमा लुकाइछिपाइ राखिएको अवस्थामा बरामद गरिएको हो ।
उनीहरूको साथबाट ट्रामाडोल (हाइड्रो क्लोरिड क्यापसुल आइपी ५० एमजी) पाँच हजार सात सय ५० पिस क्यापसुल बरामद गरिएको हो ।
पटेल र पासवानलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट पाँच दिनको म्याद अनुमति लिई विशेष अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













