म्याग्दीमा दाउरा प्रहार गरेर २७ वर्षीया श्रीमतीको हत्या

Image

म्याग्दीको बेनी नगरपालिका–७, मंगलाघाट आरनटोलमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।

रघुगंगा गाउँपालिका–६, ठाडाखानी घर भएका अन्दाजी ४० वर्षीय राजु विकले २७ वर्षीया श्रीमती भगवती विकको सोमबार राति हत्या गरेका हुन् । मदिरा सेवन गरेका राजुले श्रीमतीलाई दाउरा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक सागर पौडेलको नेतृत्वमा प्रहरीको टोली पुगेको थियो ।

सोमबार पर्वतको जलजला गाउँपालिका वडा नं ३ गुफाटोलमा आमा गुमा विकलाई भेट्न गएकी मृतक भगवतीको शरीरमा चोटपटक देखिएको थियो । मदिराले मातेका श्रीमानले पटकपटक छोरीलाई कुटपिट गरी घाइते बनाउने गरेको मृतक भगवतीकी आमा गुमाले बताइन् ।

उनले भनिन्, ‘हिजो छोरीलाई लिन घरमै पुगेका थिए, मैले छोरीलाई मार्छ भन्दै रोक्न खोज्दा पनि छोरी उतै जान्छु भनेर हिँडेकी थिइन् ।’ राजुलाई प्रहरीले बेनी नगरपालिका २ ज्यामरुककोटको जङ्गलबाट नियन्त्रणमा लिएको हो ।

घटनाको थप अनुसन्धानका लागि जिल्ला अदालत म्याग्दीबाट म्याद थप गरिने छ । अभियुक्त विकलाई कर्तव्य ज्यान अन्तर्गत अनुसन्धान गरिने छ ।