भारतले ‘अपरेशन सिन्दूर’ नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका नौ स्थानमा हवाई आक्रमण गरेको छ। भारतीय रक्षा मन्त्रालयका अनुसार, ती सबै स्थानहरूबाट भारतमाथि हुने आतंकी आक्रमणहरूको योजना र निर्देशन भइरहेको थियो।
यो कारबाही अप्रिल २२ मा भारत(नियन्त्रित कश्मीरमा भएको आक्रमणपछि गरिएको हो, जसमा २६ जना पर्यटकको मृत्यु भएको थियो। भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाएको छ।
यसैबिच पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको कारबाहीलाई युद्धको घोर उक्साहट भन्दै कडा निन्दा गरे र बलियो जवाफ दिने चेतावनी दिएका छन् ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले एक वक्तव्यमा भने, ‘भारतले थोपरेको यो युद्ध कार्यको जवाफमा पाकिस्तानलाई कडा प्रतिक्रिया दिने पूर्ण अधिकार छ र कडा जवाफ दिइँदैछ।’
पाकिस्तानी सेनाले ‘हवाई र जमिनी’ रूपमा जवाफ दिने बताएको छ। रातभरको आक्रमणपछि, भारतीय सेनाले ‘न्याय भएको’ बताएको छ । पाकिस्तानी सेनाले भारतले कोटली, मुजफ्फराबाद र बहावलपुर सहित ६ ठाउँमा आक्रमण गरेको र कम्तीमा आठ जनाको मृत्यु भएको बताएको छ । मृत्यु हुनेमा ३ वर्षीय बालक पनि छन् । यस्तै ३५ जना घाइते भएको पाकिस्तानले बताएको छ।
पाकिस्तानी सेनाले सर्वसाधारणका घरहरूलाई निशाना बनाइएको दाबी गरेको छ।















