काठमाडौं उपत्यका विकास प्राधिकरणअन्तर्गतको दिव्येश्वरी जग्गा एकीकरण आयोजना, भक्तपुरका सव(इन्जिनियर कुमार पौड्यालविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा पौड्यालविरुद्ध ३ करोड ६३ लाख २१ हजार २०७ बिगो दाबी गरिएको छ ।
उनले पदीय मर्यादा विपरीतका कार्यहरू गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अख्तियारले जनाएको छ ।
पौडेलले ९ वैशाख २०५१ देखि ३१ असार २०८० सम्मको अवधिमा उक्त अकुत रकम कमाएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
उनको वैध आय २ करोड ५८ लाख ९७ हजार ३२४ रूपैयाँ देखिएको र खर्च ६ लाख २२ लाख १८ हजार ५३२ रूपैयाँ देखिएकाले साढे ३ करोड बढी रकम गैर कानूनीरूपमा कमाएको पुष्टि भएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए ।
साथै, उनले पदमा रहँदा अवैधरूपमा कमाएको सम्पत्ति पत्नी विष्णुमैया पौड्यालका नाममा राखेको देखिएकोले बिगोबराबरको जफतका लागि उनलाई पनि प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ ।













