सरकारले दक्षिण कोरियामा भाषा अध्ययन र स्नातक तहको अध्ययन गर्न जाने विद्यार्थीका लागि एनओसी नदिने भएको छ ।
कन्सल्टेन्सीहरुको प्रलोभनमा परेर कोरिया पुगेकाहरुको समस्या विकराल भएको भन्दै सिओलस्थित नेपाली दूतावासको सिफारिसमा एनओसी बन्द गरिएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज एक सूचना जारी गर्दै कोरियामा डी टु र डी फो भिसामा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई एनओसी दिन स्थगित गरेको हो । मन्त्रालयका सूचना अधिकारी नीलकण्ठ ढकालका अनुसार सिओलस्थित नेपाली दूतावासको सिफारिसमा एनओसी दिन बन्द गरिएको हो ।
अध्ययनका लागि भन्दै कोरिया जाने विद्यार्थीहरू विभिन्न समस्यामा फस्ने पाइएको भन्दै दूतावासले एनओसी रोक्न माग गरेको थियो । विद्यार्थीलाई कन्सल्टेन्सीहरूले कोरिया जाने बित्तिकै अवैधानिकरूपमा भए पनि काम गर्न पाइन्छ भनेर आश्वासन दिने गरेको र उता गएपछि सोचे जस्तो नहुँदा विद्यार्थीहरू मानसिक तनाव र समस्यामा परेको दूतावासले उल्लेख गरेको छ ।
त्यसको जवाफमा दूतावासले नेपाली विद्यार्थीको अवस्था र उनीहरूले पाउने डी–२ र डी–४ भिसाका विषयमा जानकारी गराएको थियो ।
विषेशगरी कोरियामा अण्डरग्रेजुएट अध्ययनका लागि जाने विद्यार्थीहरू डी–२ र डी–४ भिसामार्फत जाने गरेका छन् । डी–२ भिसामा आउनेहरू कोरिया पुगेर सिधै आफूले पढ्न चाहेको विश्वविद्यालय र कोर्समा भर्ना हुने गरेको दूतावासले जनाएको छ । तर, विद्यार्थीलाई कन्सल्टेन्सीहरूले जाने वित्तिकै अवैधानिक रूपमा भएपनि काम गर्न पाइन्छ भनेर आश्वासन बाँड्ने गरेको र विद्यार्थीहरू पढाइभन्दा काममा बढी फोकस हुने गरेको दूतावासको भनाइ छ ।
















