काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध मुद्दा दायर भएको छ। वैशाख १३ गते काठमाडौँको कपनबाट पक्राउ परेकी सांसदसमेत रहेकी राईविरुद्ध मंगलबार मुद्दा दायर भएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।
राईविरुद्ध दुई करोड ४० लाख ४४ हजार ७ सय ९० रुपैयाँ विगो मागसहित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अदालतमा मुद्दा दायर गरेको हो। भोजपुरकी राई कांग्रेसकी समानुपातिक सांसद हुन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैशाख १३ गते बूढानीलकण्ठबाट पक्राउ गरेको थियो । उनीमाथि यस प्रकरणमा पूरक अनुसन्धान भएको हो ।
उनी २०७३ कात्तिक ६ गतेदेखि २०७४ मंसिर ४ गतेसम्म उक्त संस्थाकी सदस्य रहेकी थिइन् । त्यस समयमा ८९ लाख ३४ हजार ४५५ रुपैयाँ र २०७४ मंसिर ८ गतेदेखि २०७६ भदौ २१ गतेसम्म सचिव पदमा रहँदा कार्यसमितिको नाममा भएको एक करोड ४२ लाख १० हजार ४३३ रुपैयाँ गरी जम्मा दुई करोड ४० लाख ४४ हजार ७९० रुपैयाँ अपचलन भएको सरकारी वकिलको प्रतिवेदनमा उल्लेख छ ।
राईसहित २१ जनालाई प्रतिवादी बनाइएको छ ।













