पोखरामा चोरीमा संलग्न मामा-भान्जाको गिरोह पक्राउ

Image

प्रहरीले पोखरामा संगठित रूपमा चोरी गर्ने नातेदारको एउटा गिरोह पक्राउ गरेको छ । चोरीमा संलग्न र चोरीको सामान खरिद गर्ने सुनचाँदी व्यवसायी गरेर ५ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा तनहुँ शुक्लागण्डकी नगरपालिका–१०, शांखे घर भएका २६ वर्षीय कट्टप्पा भन्ने सुवास विक, उनकै ठूलो बुवाको छोरा २३ वर्षीय विमल विक छन् ।

त्यसैगरी सुवासकै मामा पोखरा महानगरपालिका–१०, गौरीमार्ग बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका–९, काल्खु घर भएका ५३ वर्षीय दुर्गा बहादुर थापा, सुवासकै फुपुका छोराहरू तनहुँ शुक्लागण्डकी नगरपालिका–११, दुर्गे घर भएका २२ वर्षीय गणेश सुनार तथा पोखरा महानगरपालिका–२ बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका–९, काल्खु घर भएका ३३ वर्षीय सुरेश विक छन् ।

उनीहरूबाट औंठी, सुनको ढिक्का, पोते, माला, मंगलसुत्र, छड्के तिलहरीसहित १२ तोला ८ लाल सुनका गरगहना बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए । औंठी, सिक्री, बाला, पाउजु, चुरीलगायत २४ तोला बराबर चाँदीका गरगहना र चोरी गर्न प्रयोग हुने सामान पनि बरामद भएको उनले बताए ।

यस्तै चोरीमा प्रयोग भएको ग२२प ४९८९ नम्बरको मोटरसाइकल र ग२१प ६७५३ नम्बरको स्कुटर समेत बरामद गरेको छ । यस गिरोहले ६९ लाख ३ हजार २ सय ६० रुपैयाँ बराबरको धनमाल चोरी गरेको जाहेरी प्रहरीमा परेको छ । थप जाहेरी आउने क्रम जारी रहेकाले उनीहरू संलग्न चोरीका घटना र चोरी भएको धनमाल बढ्न सक्ने उनले बताए ।

उनीहरूले हालसम्म पोखराको नौ स्थान र तनहुँको तीन स्थान गरी १२ वटा घरमा चोरी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । पक्राउ परेकामाथि चोरी तथा डाँकासम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट म्याद थप अनुमति लिएर यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।