श्रीमतीको हत्या आरोपमा धनुषा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका–३ बनिनियाँका हरिराम यादवलाई पक्राउ गरेको छ ।
उनी करिब तीन महिनादेखि फरार थिए । गत १७ फागुनमा उनकी श्रीमती २० वर्षीया अञ्जली यादवको शव घरकै पूजा कोठामा गाडिएको अवस्थामा फेला परेको थियो ।
अञ्जलीको हत्या आरोपमा श्रीमान हरिराम पक्राउ परेका हुन् । हरिराम र अञ्जलीकी १० महिनाकी छोरीको अवस्था पनि सोही दिनदेखि अज्ञात छ । श्रीमतीसँग विवाद गरिरहने, कुटपिट गरिरहने हरिराम घटनापछि फरार रहेकाले उनैले हत्या गरेको आशंका गरिँदै आएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक १० महिने छोरीको अवस्था भने अज्ञात रहेको बताए । प्रहरीले यादवसँग सोधपुछ गरिरहेको र बालिकाको अवस्था पत्ता लगाउन अनुसन्धान जारी राखेको जानकारी दिए ।
उनले पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी गराउने बताए । पत्रकार सम्मेलनमा हत्या अनुसन्धानको प्रगति, हरिराम पक्राउ प्रक्रिया र बालिकाको खोजबिनका बारेमा जानकारी दिइने प्रहरी उपरीक्षक रेग्मीको भनाइ छ ।