यातायात व्यवसायीले गरेको यातायात बन्दको फाइदा उठाउँदै राइड सेयरिङ कम्पनीले यात्रुसँग मनपरी भाडा असुल्न थालेपछि नेपाल प्रहरी कारबाहीमा उत्रिएको छ ।
प्रहरीले आज एक सूचना गर्दै त्यस्ता राइड सेयरिङ कम्पनीमाथि कारबाही गर्ने चेतावनी दिएको हो । उसले बढी भाडा लिएमा यात्रुहरूलाई नजिकको ट्राफिक प्रहरी कार्यालयमा वा १०३ मा कल गरी जानकारी दिन आग्रह गरेको छ ।
बन्दको घोषणा गरेपछि आज बिहानैबाटै पठाओ, इन्ड्राभ, टुटललगायत राइड सेयरिङका चालकले अफलाइन बार्गेनिङ गरेको र मनपरी भाडा असुल्न थालेको गुनासो चारैतिरबाट आएपछि प्रहरीले यस्तो सूचना जारी गरेको उल्लेख छ ।
सूचनामा भनिएको छ, ‘विभिन्न Ride sharing App मार्फत यात्रुहरुलाई बढी भाडा लिने र Offline Bargaining गर्ने गरेको गुनासोहरु आइरहेको हुनाले राइडरहरुले यस्ता कार्य नगर्न तथा गर्ने गरेको पाइएमा नजिकको ट्राफिक प्रहरी कार्यालयमा वा १०३ मा कल गरी जानकारी दिन हुन अनुरोध गर्दछौं ।’














