इजरायलस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन आग्रह गरेको छ । दूतावासले एक वक्तव्य जारी गर्दै इजरायल र इरानबीच चलेको युद्धका कारण जोखिम बढेकोले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन भनेको हो ।
दूतावासले युद्धको दौरानमा इजरायलका विभिन्न ठाउँमा ठूलो जनधनको क्षति भएको र त्यहाँको होम फ्रन्ट कमान्डद्वारा सर्वसाधारणका लागि लगातार अध्यावधिक निर्देशन जारी गरिरहेकोले शैक्षिक संस्था एवम् अत्यावश्यकबाहेकका कार्यालय बन्द रहने जनाएको छ । त्यस्तै सभा भेला नगर्न पनि सरकारद्वारा निर्देशन जारी भइरहेको हुँदा स्थानीय सुरक्षा प्रोटोकल पालना गर्न पनि दूतावासले ध्यानाकर्षण गराएको छ ।
गएको बिहीबार राति इजरायलले इरानमा हवाई आक्रमण गरेको थियो । त्यसपछि यी दुई देश लगातार आक्रमण तथा प्रत्याक्रमणमा उत्रिएका छन् । तनाव बढ्दै जाँदा दुवै देशमा ठूलो जनधनको क्षति भएको छ ।
जारी युद्धमा इजरायलका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको नेपाली दूतावासले जनाएको छ ।
यो स्थितिमा इजरायली होम फ्रन्ट कमान्डद्वारा सर्वसाधारणका निम्ति लगातार अध्यावधिक निर्देशन जारी गरिएको पनि दूतावासले जनाएको छ ।














