कोशी प्रदेशले ल्यायो ३५ अर्ब ८७ करोड १९ लाखको बजेट (पूर्णपाठ)

Image

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड १९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यो चालु आर्थिक वर्षको तुलनामा ६० करोड रुपैयाँले बढी हो ।

आइतबार प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानामगरले समावेशी, समन्यायिक र दिगो विकासको लक्ष्यसहित बजेट ल्याइएको जानकारी दिए ।

कुल विनियोजनमा स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ४ अर्ब ७० करोड ७२ लाख रहेको छ । आगामी आर्थिक बर्षकोलागि अनुमानित खर्च बेहोर्ने स्रोतमा प्रदेश सरकारको आन्तरिक राजस्व ५ अर्ब ५० करोड, राजस्व बाँडफाँडबाट १२ अर्ब ३९ करोड ६० लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब  ५८ करोड ३४ लाख, सशर्त अनुदान ४ अर्ब ५७ करोड १० लाख रहने भनिएको छ । 

त्यस्तै समपूरक अनुदानबाट २९ करोड १७ लाख र विशेष अनुदानबाट ५५ करोड २० लाख गरी राजस्व तथा वित्तीय हस्तान्तरणमा करिब ३२ अर्ब ७४ करोड ९९ लाखको अनुमान प्रस्तुत भएको छ । 

कृषि, उद्योग, सेवा क्षेत्र, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिईएको रानाले जनाएका छन् । कोशी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा ३५ अर्ब २७ करोड ९३ लाख बजेट विनियोजना गरिएको थियो ।

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि स्वास्थ्य क्षेत्रमा ३ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । स्वास्थ्य पूर्वाधार विकास र सेवा विस्तारलाई प्राथमिकता दिँदै बजेट व्यवस्था गरिएको जानकारी दिए । विराटनगरस्थित शैलजा हृदयरोग केन्द्रलाई विशेषज्ञ अस्पतालको रूपमा स्तरोन्नति गरिने बजेटमा उल्लेख छ । साथै, प्रदेशभर स्वास्थ्य चेतना अभिवृद्धि गर्न ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ नामक अभियान सञ्चालन गरिने योजना छ ।

प्रदेशका सबै अस्पतालहरूमा मानसिक स्वास्थ्य सेवा विस्तार गर्न आवश्यक बजेट विनियोजन गरिएको छ भने औषधि खरिदका लागि ३ करोड ६१ लाख रुपैयाँ छुट्याइएको छ । खोटाङमा प्रसोधन केन्द्र स्थापना गर्न ३ करोड रुपैयााको व्यवस्था गरिएको छ ।

१० वर्षभन्दा कम उमेरका बालबालिकालाई सरकारी अस्पतालमा निःशुल्क उपचार उपलब्ध गराउने नीति बजेटमा समेटिएको छ । साथै, विद्यालय नर्सिङ स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिइनेछ भने प्रदेशस्तरीय ल्याब सुदृढीकरणका लागि ३ करोड १० लाख रुपैयाँ छुट्याइएको छ।

मन्त्री रानामगरले सर्वसुलभ र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित बजेटको प्राथमिकता तय गरिएको स्पष्ट पारे । प्रदेश सरकारका अनुसार आगामी वर्षदेखि स्वास्थ्य सेवा क्षेत्रमा गुणस्तर, पहुँच र परिणाममुखी सुधार ल्याउने तयारी गरिएको छ ।