नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले दुई महिनाका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन शुक्रबार बोलकबोल गर्ने भएको हो ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले मंसिर ११ गते जारी गरेको सूचनाअनुसार दिउँसो २ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल गर्न सकिनेछ । निक्षेप संकलनको ब्याजदर बोलकबोलबाटै निर्धारण हुनेछ ।
राष्ट्र बैंकले न्युनतम १० करोड रुपैयाँदेखि अधिकतम ४० अर्ब रुपैयाँसम्म बोल गर्न सकिने व्यवस्था गरेको छ । बोल रकम १० करोड रुपैयाँले भाग जाने गरी प्रस्ताव गर्नुपर्नेछ ।
सहभागी बैंक तथा वित्तीय संस्थाले एउटै वा फरक–फरक ब्याजदरमा एकभन्दा बढी बोल पेस गर्न सक्नेछन् । संकलित रकमको साँवा तथा ब्याज आगामी माघ १३ गते भुक्तानी हुनेछ ।
यस उपकरणमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्रै सहभागिता जनाउन पाउनेछन् ।
राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ८५ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ । तर, कर्जा प्रवाह भने ६१ खर्ब १८ अर्ब रुपैयाँमा सीमित छ ।
निक्षेप संकलन र कर्जा विस्तारबीचको यही अन्तरले बैंकिङ प्रणालीमा लगानीयोग्य रकम थुप्रिएको हो । कुल निक्षेपमध्ये वाणिज्य बैंकमा ७७ खर्ब १२ अर्ब रुपैयाँ र अन्य बैंक तथा वित्तीय संस्थामा ८ खर्ब १८ अर्ब रुपैयाँ रहेको छ ।
वाणिज्य बैंकहरूले ५४ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् भने अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ६ खर्ब ८० अर्ब रुपैयाँ छ ।
बैंकिङ प्रणालीको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७१.१६ प्रतिशतमा सीमित छ । नियामकीय व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले ९० प्रतिशतसम्म कर्जा प्रवाह गर्न पाउने भए पनि कर्जाको माग कमजोर हुँदा उपलब्ध स्रोत पूर्ण रूपमा परिचालन हुन सकेको छैन । यसले बैंकहरूमा थप कर्जा विस्तार गर्ने पर्याप्त क्षमता रहेको देखाउँछ ।














