जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले ८२ हजार ९ सय थान लागूऔषध (ट्रमाडोल)सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको पन्चकन्या गाउँपालिका २ घर भइ काठमाडौं महानगरपालिका– १४ बल्खु बस्ने २६ वर्षीय राजु मिजार र २४ वर्षीया मीना मगर रहेको प्रहरीले बताएको छ ।
उनीहरुलाई प्रहरीले गत जेठ ३० गते राति ९ बजेतिर अक्सिजन सिलिण्डर भित्र लागुऔषध ओसारपसार गरिरहेका अवस्थामा कुलेश्वरस्थितमा फलफूल बजार क्षेत्रबाट पक्राउ गरेको हो । लागूऔषधसहित भारतीय नम्बरको गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका राजु मिजारविरुद्ध लागूऔषध कुसुरमा यसअघि तीन पटक मुद्दा चलिसकेको प्रहरीले जनाएको छ । मिजारविरुद्द २०७८/०८/०३ गते लागु औषध नियन्त्रण ब्यूरोबाट, २०८१/०३/०५ गते प्रहरी वृत्त जगाती भक्तपुरबाट र २०८१/०४/०१ गते प्रहरी वृत्त थानकोट काठमाडौंबाट लागु औषध कसुरमा मुद्दा चलेको अभिलेखबाट देखिएको प्रहरीको भनाइ छ ।
ट्रमाडोल ८२ हजार ९ सय क्याप्सुलसहित विभिन्न कम्पनीको मोबाइल २ थान, अक्सिजन सिलिन्डर १ थान र भारतीय नम्बर प्लेट भएको कार १ थान र नगद ६५ हजार पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुविरुद्ध अनुसन्धानको लागि काठमाडौं जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













