सुतेकै ठाउँमा सर्पले टोक्दा ४ वर्षीय बालकको मृत्यु

विषालु सर्पको टोकाइबाट सर्लाहीमा एक बालकको मृत्यु भएको छ । बागमती नगरपालिका १२ का कुमार विकका छोरा ४ वर्षीय सलिन विकको विषालु सर्पको टोकाइबाट मृत्यु भएको हो ।

गएराति (आइतबार राति) १० बजे बालकलाई ओछ्यानमै सर्पले टोकेको थियो । अवस्था गम्भीर बनेपछि बालकलाई राति करिब २ बजे उपचारका लागि सर्लाहीकै नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा पुर्‍याइएको थियो ।

केन्द्रमा ल्याउनासाथ डाक्टरले बालकलाई मृत घोषणा गरेको सर्पदंश उपचार केन्द्रका अध्यक्ष उद्धवप्रसाद पौडेलले जानकारी दिए । ‘हामीकहाँ ल्याउँदा बालकको मृत्यु भइसकेको थियो’, पौडेलले भने, ‘हामीले बालकलाई उपचार सुरु गर्नै पाएनौँ ।’

सर्पले टोकेपछि ढिलागरी बालकलाई उपचारमा ल्याउँदा बचाउन नसकिएको उनले बताए । स्थानीयका अनुसार बालकको बुवा वैदेशिक रोजगारीमा छन् । उनकी आमा आफन्तको मृत्यु भएपछि केही दिनअघि मात्रै झापा गएका बेला घटना भएको हो । बालक घरमा सानीआमासँग बस्थे ।

सर्पले टोके पनि गएराति बालकका अभिभावकले सर्प देखेका थिएनन् । औँलामा रगत बगिरहेको देखेपछि बालकलाई सर्पले टोकेको अनुमानसहित अस्पताल पुर्‍याइएको थियो ।

आज बिहान बालक सुतेको ओछ्यान नजिकै गोमन सर्प फेला परेको सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

सुवेदीका अनुसार बालकको मृत्यु भएपछि फेला परेको गोमन सर्पलाई स्थानीयले बोरामा हालेर राखेका छन् । बालकको शव अहिले पनि सर्पदंश उपचार केन्द्र नवलपुरमै छ ।