यूके र लिथुआनिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

Image

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषा जनकपुरधाम उपमहानगरपालिका–४ का २६ वर्षीया सुजनीकुमारी साह, सुनसरी धरान उपमहानगरपालिका–३ घर भएका ३४ वर्षीय दीपककुमार उदास र भक्तपुर चाँगुनारायण नगरपालिका–१ का २३ वर्षीया रेशिका हमाल न्यौपाने छन् ।

उनीहरूमाथि यूके र लिथुआनिया पठाइदिने आश्वासन दिएर ठगी गरेको आरोप लागेको छ ।

प्रहरीका अनुसार, पक्राउ परेकीमध्ये सुजनी कुमारीले यूके पठाइदिन्छु भन्दै एक जना पीडितबाट १७ लाख चारहजार रुपैयाँ, दीपक कुमारले यूके पठाइदिन्छु भन्दै एक जना पीडितबाट दुईलाख ३४ हजार रुपैयाँ र रेशिकाले लिथुआनिया पठाइदिन्छु भन्दै दुई जना पीडितबाट ६ लाख ८ हजार लिएर सम्पर्कविहीन भएका थिए ।

पीडितको उजुरीका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।