ठूलो परिमाणमा लागुऔषध र नगदसहित महिला पक्राउ

Image

ठूलो परिमाणमा लागुऔषध तथा स्रोत नखुलेको नगदसहित एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा धनुषाको जनकपुर घर भई हाल काठमाडौँ महानगरपालिका–१५ अजिमा हल नजिक डेरा गरी बस्ने २० वर्षीया मनीषा ठाकुर रहेकी छन् ।

मनीषाले लागुऔषध बेचबिखन गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा उनको कोठामा खानतलासी गर्दा विभिन्न खालका लागुऔषध र नगद रु २ लाख २५ हजार ८०० रुपैयाँ समेत बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

मनीषाको कोठामा ट्रमाडोल २१ हजार ५०० पिस ट्याबलेट, फेनारागन २६० पिस, डाईजापाम २६० पिस र नर्फिन २६० पिस बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप लिई थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता एसपी अपील राज बोहराले जानकारी दिए ।