सुन तस्करी मुद्दामा फरार रहेकी रोल्पाकी अमला रोक्का पक्राउ परेकी छन् । तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङकी पत्नीसमेत रहेकी रोक्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।
उनी टोखाबाट पक्राउ परेकी हुन् । ब्युरोका एसएसपी होबीन्द्र बोगटीले आइतबार उनलाई अदालत उपस्थित गराइने बताए । उनी ६१ केजी अवैध सुन तस्करीको मुद्दामा अनुसन्धान सुरु भएपछि फरार थिइन् ।
प्रहरीले अमला रोक्काविरुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिससमेत जारी गरेको थियो । उनलाई फरार सूचीमा राखेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सोही अनुसन्धानमा दावा छिरिङ र अन्यलाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दा अदालतमा विचाराधीन छ ।
अमला काठमाडौंको ठमेलस्थित होटेल भियनाकी सञ्चालक हुन् । उनी माओवादी केन्द्र निकट रोल्पा-काठमाडौं सम्पर्क मञ्चको पनि पूर्वउपाध्यक्ष हुन् ।
राजस्व अनुसन्धान विभागले २ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार राजश्व जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन बरामद गरेको थियो ।
१९ दिनपछि थप अनुसन्धानका लागि भन्दै विभागले सीआईबीलाई फाइल बुझाएको थियो ।