नेपालमा टेलिग्राम एप बन्द भएको छ । टेलिग्राममार्फत अनलाइन ठगी भएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा टेलिग्राम बन्द गराएको हो ।
प्राधिकरणले आज एक सूचना जारी गर्दै टेलिग्राम एपकाे पहुँचमा तत्काल राेक लगाउने बन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरुलाई निर्देशन दिएकाे छ ।
सम्पत्ति शुद्धीकरण तथा वित्तीय अपराधमा टेलिग्राम एप्लिकेसनको दुरुपयोग भइरहेको नेपाल सरकारले प्रारम्भिक ठहर गरेअनुसार प्राधिकरणले बन्द गर्ने सूचना जारी गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत टेलिग्राम बन्द गर्ने राय दिएको थियो।
नेपाल प्रहरीले पछिल्लो समय गरेका विभिन्न केससँग सम्बन्धित अनुसन्धानबाट हुन्डी तथा अन्य वित्तीय अपराधको काम टेलिग्राम दुरुपयोग भइरहेको पाइएको भन्दै टेलिग्रामका बारेमा थप कदम चाल्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी कसूर निवारणसम्बन्धी राष्ट्रिय समन्वय समितिले पत्राचारसमेत गरेको थियो।














