होटलबाट पक्राउ परेका चक्रे मिलन समूहबाट खुकुरी बरामद

Image

विगतमा संगठित गुण्डागर्दीमा संलग्न भएको आरोप लागेका मिलन गुरुङ उर्फ चक्रे मिलन पुनः प्रहरीको निगरानीमा परेका छन्। बुधबार राति काठमाडौंको बाँसबारीस्थित होटल ‘साम्बाला’बाट उनीसहित ४७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भद्रकालीको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूले प्रयोग गरेको गाडीहरू मध्ये एकबाट प्रहरीले २ थान खुकुरी र केही थान फलामका रड समेत बरामद गरेको छ।

उक्त समूहको गतिविधि सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी सतर्क बनेको थियो। चक्रे मिलनको स्कर्टिङ जस्तो शैलीमा गाडीको लावालस्करसहित बाटो अबरुद्ध गरी हिँडेको भिडिओ भाइरल भएपछि प्रहरीले निगरानी कडा बनाएको थियो।

प्रहरीका अनुसार बरामद खुकुरी र रड उनीहरूले आफ्नो सुरक्षाका लागि राखिएको बताएका छन्। तर, यस्ता हतियार सार्वजनिक स्थानमा लुकाइराख्नु कानुनविपरीत भएकाले अनुसन्धान अघि बढाइएको छ।

उनीहरूलाई अहिले काठमाडौं जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको छ र अनुसन्धान भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले जानकारी दिएका छन्।

प्रहरीले पक्राउ परेकाहरूको विस्तृत पृष्ठभूमि जाँच गर्दै अवैध हतियार राख्ने उद्देश्य र संभावित आपराधिक योजना रहेको आशंकामा अनुसन्धानलाई थप गहिराइमा पुर्‍याएको बताएको छ।