स्थानीयलाई कुटपिट गरेको आरोपमा तारकेश्वर नगरपालिका ११ का वडा अध्यक्ष कविराज बस्नेतलाई प्रहरीले ज्यान मार्ने उद्योगमा पक्राउ गरेको छ ।
गत २३ असारमा तारकेश्वर ११ र काठमाडौं– १६ बीच भएर बग्ने महादेव खोलाको विवादको विषयलाई लिएर बस्नेतले युवाहरुको समूह बनाएर ३९ वर्षिय दिनेश श्रेष्ठमाथि आक्रमण गरेका थिए । उनीविरुद्ध सोमबार किटानी जाहेरी परेपछि बालाजु प्रहरी वृत्तले आज बिहान पक्राउ गरेको हो ।
प्रहरीका अनुसार दुई पक्षीय झडपमा बस्नेतले स्थानीय युवाहरुको समूह बनाएर आक्रमण गरेकाले पक्राउ गरिएको हो । वडाध्यक्ष बस्नेतसहितकाका युवाहरुको कुटपिटबाट गम्भीर घाइते भएका श्रेष्ठको अहिले उपचार भईरहेको छ । उनीसँगै घाइते भएका अन्य ४ जनाको अवस्था सामान्य छ ।
वडा अध्यक्ष बस्नेतसहित १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर थप बयानका लागि सरकारी वकिलको कार्यालय लिएर जाने तयारी गरेको छ । स्थानीयको ज्यान जानेगरि आक्रमणमा उत्रिएका बस्नेत सहितको समूहलाई पक्राउ नगर्न नेपाली काँग्रेसका नेताहरुले दबाब दिएका छन् । काँग्रेसको दबाबका कारण पक्राउ भएका मध्ये केहिलाई सामान्य तारेखमा छाडने प्रहरीको तयारी छ ।













