सर्लाहीको बागमती नगरपालिकास्थित भरत ताल निर्माणमा भ्रष्टाचार भएको ठहरसहित मेयर भरत थापालाई ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिवाना निर्धारण भएको छ ।
साउन २१ गते विशेष अदालतले मेयर थापा, कर्मचारीहरू विमलकुमार पोखरेल र सागर पौडेल तीनै जनाले बागमती नगरपालिकामा भरत ताल निर्माणका क्रममा नदीजन्य पदार्थ (ढुंगा, गिटी, बालुवा) हिनामिना गरेको भन्दै भ्रष्टाचार ठहर गरेको थियो ।
विशेष अदालतले भ्रष्टाचार ठहर गरेर बिहीबार तीनै जनालाई सजायसमेत निर्धारण गरेको हो। थापा, पोखरेल र पौडेललाई ८ वर्ष कैद र जनही १० करोड जरिवानाको सजाय निर्धारण भएको हो ।
साथै पीडित राहत कोषमा ४० लाख ३९ हजार १३१ क्षतिपूर्ति भराउन भनिएको छ। २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा थापा नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार भई मेयर निर्वाचित भएका थिए ।
















