कुवेतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या १६ पुग्यो

Image

कुवेतमा ज्यान गुमाउने नेपालीको संख्या १६ पुगेको छ। विषाक्त मदिरा सेवनका कारण उनीहरूको मृत्यु भएको आशंका गरिएको छ । हालसम्म मृत्यु हुने २३ मध्ये १६ जनाको नेपाली राष्ट्रियता खुलेको र बाँकी भारतीय नागरिक रहेको नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष एकराज मल्लले जानकारी दिए । ‘मृतकका विषयमा थप विवरण केही पनि सार्वजनिक गरिएको छैन। यहाँको सरकारले अनुसन्धान भइरहेको बताएको छ,’ उनले भने, ‘कसैको पनि नाम ठेगाना खुलाइएको छैन ।’

मदिरा सेवनपछि बेहोस भएका १६० जनाभन्दा बढी आप्रवासी श्रमिक विभिन्न अस्पतालका सघन उपचारकक्षमा रहेको महासंघले विज्ञप्तिमा उल्लेख गरेको छ। कुवेतस्थित स्वास्थ्य मन्त्रालयले मेथानोल मदिराका कारण बिरामीहरू धमाधम अस्पताल भर्ना हुने क्रम बढेको उल्लेख गरेको छ । १ सय ६० जनाभन्दा बढी उपचारका क्रममा रहेको मन्त्रालयले जनाएको छ । कुवेतस्थित आदान, फर्वनिया र मुबारक अलकबी अस्पतालमा बिरामीहरूको उपचार भइरहेको छ ।

कुवेतमा मदिरा पूर्णरूपमा प्रतिबन्धित छ । तर, पनि लुकिछुपी हुने उत्पादन गरी अवैधानिक बेचबिखन भएको पाइएको हो । विषाक्त मदिराको स्रोत पत्ता लगाउन अनुसन्धान भइरहेको स्वास्थ मन्त्रालयले जानकारी दिएको छ । मिर्गौला फेल भएकाहरूको डायलासिस चलिरहेको, केहीमा पूर्ण र आंशिक दृष्टिदोष देखिएको मन्त्रालयले जनाएको छ ।

विषाक्त मदिरा सेवन गरेर मृत्यु हुने र गम्भीर बिरामी हुनेमा अधिकांश निर्माण मजदुर रहेका छन् । प्रारम्भिक अनुसन्धानमा मदिरामा मेथानोल प्रयोग भएको देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले पुष्टि गरेका छन् । मेथानोल एक विषालु रसायन हो । उद्योगहरूमा एन्टिफ्रिज, सोल्भेट र इन्धन बनाउन प्रयोग गरिने मेथानोल मदिरामा प्रयोग भएको देखिएको अधिकारीहरूले बताएका छन् ।

सामान्य मदिरामा पाइने एथानोल मानव उपभोगका लागि प्रयोग हुने भएपनि मेथानोल खाद्य प्रयोजनमा प्रयोग गरिँदैन । मेथानोलयुक्त पेय पदार्थ पिउँदा टाउको दुखाइ, बान्ता, दृष्टि धमिलो हुने, कोमामा पुग्ने लक्षण देखिन्छ भने व्यक्तिको मृत्यु समेत हुनसक्छ । कुवेतमा हाल एक लाख ६० हजारभन्दा बढी नेपाली श्रमिक कार्यरत रहेका छन् ।