कुवेतमा विषादीयुक्त मदिरा सेवनबाट ११ नेपालीको मृत्यु, ४० भन्दा बढी बिरामी

Image

कुवेतमा विषादीयुक्त मदिरा सेवनका कारण ११ नेपालीको मृत्यु भएको छ भने ४० भन्दा बढी नेपाली आप्रवासी बिरामी परेका छन्। कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार शनिबारसम्म ११ नेपालीको ज्यान गइसकेको पुष्टि भएको छ।

आचार्यका अनुसार बिरामीमध्ये केही गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन् भने केहीको अवस्था सामान्य छ। कुवेतमा मदिरा सेवन अवैध मानिन्छ, तर पीडितहरूले साथीभाइ सर्कलबाट मदिरा प्राप्त गरेको जानकारी दिएको श्रम सहचारीले बताए।

कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार मिथानोल मिसाइएको मदिरा सेवनका कारण हालसम्म करिब १६० जना आप्रवासी बिरामी परेका छन्। तीमध्ये २० जनाभन्दा बढीको मृत्यु भइसकेको पुष्टि गरिएको छ।

यस घटनाले आप्रवासी समुदायमा त्रास फैलिएको छ। कुवेत सरकारले घटनाको छानबिन गरिरहेको जनाएको छ भने गैरकानुनी रूपमा मदिरा आपूर्ति गर्नेहरूलाई कडा कारबाही गरिने चेतावनी दिएको छ।

नेपाली दूतावासले कुवेतमा कार्यरत नेपालीहरूलाई यस्ता अवैध र खतरनाक गतिविधिबाट टाढा रहन र सचेत रहन अपिल गरेको छ।