नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशको नामकरणबाट पार्टी पछि नहट्ने बताएका छन् । आइतबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसङ संक्षिप्त कुराकानी गर्दै ओलीले कोशी प्रदेशको नामकरणबाट अन्य दल पछि हटे पनि एमाले पछि नहट्ने बताएका हुन् । कोशी प्रदेशको नामकरणमा मत दिने काँग्रेस, माओवादी, जसपा सबै भागेको तर एमाले नभाग्ने उनको भनाइ छ ।
त्यस्तै अध्यक्ष ओलीले नयाँ सरकार गठनका विषयमा नेपाली काङ्ग्रेससँग कुनै छलफल नभएको स्पष्ट पारेका छन् । ओलीले नयाँ सरकार गठनका विषयमा काङ्ग्रेससँग कुराकानी नभएको स्पष्ट पारेका हुन् । उनले एमालेसँग कुराकानी गर्न काँग्रेसका शीर्ष नेताहरू डराइरहेको समेत टिप्पणी गरे । काङ्ग्रेससँग कुनै हिमचिम नभएको र काँग्रेसका नेताहरूसँग फोनमा पनि कुरा नभएको उनको भनाइ छ । भेट्दा हाई हेलो मात्रै भइरहेको उनले बताए । कुराकानीका क्रममा उनले ललिता निवास प्रकरणका विषयमा आफूले राम्रोसँग बुझ्न नपाएको उल्लेख गरे ।














